Sunday, June 13, 2021

एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो

एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो ३० जेठ, काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । यद्यपि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको उनले बताए । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ । शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ । यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

Friday, June 11, 2021

संकटमा परेको लोकतन्त्र र संविधान बचाउनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष.

 काठमाडौं : सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन्।




बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटकपटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए।

यस्तै सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको ठहर गरेका छन्।

भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको बताउदै पटकपटक संसद विघटन गरिनु निरंकुशता र स्वच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताए।

भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए।

सभामुख सापकोटाले दोस्रो पटक संसद विघटन भएपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन्। यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डाक्टर भट्टराई, अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेता दीपक बोहोरा सहभागी थिए।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका केही नेता भर्चुअल माध्यामबाट सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी छैनन्।